Sunday, December 13, 2015

Dust in kathmandu


धुलोबाट जोगिन नाक र मुखमा मास्क लगाएर हिँड्नेहरु काठमाडौंका सडकमा धेरै भेटिन्छन्। स्वास्थ्यप्रति सजग हुँदै मास्क प्रयोग गरे पनि त्यस्ता मास्क काठमाडौंको धुलो फोक्सोमा जान नदिन सक्षम छैनन्। अनुसन्धानकर्ताका अनुसार काठमाडौंको वायुमा अत्यन्तै साना २ दशमलव ५ माइक्रोमिटर (पिएम २.५) भन्दा कम आकारका धुलोका कण छन्, जसलाई बजारमा पाइने सामान्य कपडाका मास्कले भित्र छिर्न रोक्न सक्दैन।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्यसचिव डा. खेमबहादुर कार्कीका अनुसार जाडो मौसममा काठमाडौंको वातावरणमा यस्ता कण बढी सक्रिय हुने अनुसन्धानमा देखिएको छ। परिषदले एक वर्षअघि गरेको अनुसन्धानले काठमाडौं उपत्यकामा बिहान ६ देखि ९ र साँझ ७ देखि ९ बजेसम्म अत्यधिक प्रदूषण हुने देखाएको थियो। ‘२.५ माइक्रोमिटर भन्दा कम आकारका धुलोका कण सास लिँदा सोझै फोक्सोमा पुग्न सक्छन्,’ उनले भने, ‘योभन्दा ठूला कण अनुहार वा शरीरमा टाँसिन्छन्। तर सानालाई बजारमा पाइने मास्कले रोक्दैन।’
काठमाडौंमा बढ्दो पेट्रोलियम पदार्थजन्य सवारीको प्रयोग, नाकाबन्दीका कारण बालिएको दाउराको आगो, इँटाभट्टा मात्र यसका कारक भने होइनन्। जाडो महिनामा पूर्वतिरबाट पश्चिमतिर हावा फैलने हुँदा भारतका विभिन्न सहरको प्रदूषण यात्रा गर्दै काठमाडौंसम्म आइपुग्छन्।
परिषदको करिब एक वर्ष लामो अनुसन्धानले काठमाडौं उपत्यकामा बिहान र साँझ हिँडडुल गर्न अन्य बेलाभन्दा खतराजन्य रहेको निस्कर्ष निकालेको थियो। अनुसन्धानले साँझबिहान हिँडडुल गर्दा श्वासप्रश्वास, मुटु, आँखा र छालाका रोग बढ्ने जोखिम देखाएको कार्कीले जानकारी दिए। ‘कचौरा आकारको उपत्यकाभित्र छिर्ने बाहिरका कण लामो समय यहाँबाट बाहिर जान सक्दैनन्,’ उनले भने, ‘जसका कारण उपत्यकावासीमा स्वास्थ्य जोखिम बढिरहेको छ।’
कार्कीका अनुसार कोइलाको अत्यधिक प्रयोग हुने उद्योगबाट २.५ माइक्रोमिटर भन्दा साना कण उत्पादन हुन्छ। यसको मुख्य कारक भारतमा रहेका उद्योगहरु देखिएको उनले जानकारी दिए। ‘कोइला मात्रै नभएर पेट्रोल/डिजेलयुक्त सवारीबाट पनि ससाना कणयुक्त धुलो निस्कने गर्छन्,’ उनले भने, ‘दक्षिण भारतनजिकका कलकारखाना एवं सहर र नेपालकै तराई भेगका उद्योगले उत्पादन गरेको यस्ता कणसमेत काठमाडौं आइपुग्छन्।’
वातावरणविद डा. तोरण शर्मा पनि काठमाडौंमा धुलोको मात्रा बढ्नुमा दक्षिण भेगबाट चल्ने हावा मुख्य कारक रहेको बताउँछन्। ‘खासगरी जाडोमा चल्ने यस्तो हावाले सिधै धुलो भिœयाउँछन्,’ उनले भने, ‘यसलाई रोक्ने उपाय भनेकै कोइलाजन्य पदार्थ प्रयोगमा रोक लगाउनु नै हो।’
भारत र चीनमा बढेको औद्योगिकीकरणका कारण बढिरहेको वायु प्रदूषणबाट जोगिन उनीहरुलाई कार्बन कटौती कम गर्न दबाब दिनु मात्र विकल्प रहेकोे शर्मा बताउँछन्। ‘नेपालको सन्दर्भमा चीनभन्दा भारतबाट बढी जोखिम रहन्छ,’ उनले भने, ‘उत्तरतिर चिनिया हिमालय पर्वतले छेकेको छ भने दक्षिणतिर भारतबाट सिधै वायु आउने बाटो छ।’
‘दक्षिणतिरबाट हावाले कालो धुवाँ ल्याउँदा करिब एक हप्ताअघि काठमाडौंमा दिउँसै अँध्यारो देखियो। अब केही दिनपछि पनि त्यस्तो अवस्था आउँछ,’ उनले भने, ‘त्यसैले भारतसँग नेपाल राजनीतिक, सामाजिक र सांस्कृतिक दृष्टिले मात्र होइन वातावरणीय प्रदूषणका हिसाबले पनि निकै नजिक छ।’ त्यसैले जाडोका बेला खैरो तुवालो देख्नु काठमाडौंमा सामान्य भइसकेको उनले बताए।
विश्व स्वास्थ्य संगठनले भर्खरै विश्वका ९१ देशका १६ सय सहरमा प्रदूषण नाप्दा चीनका दर्जन र भारतका १७ वटा सहर गम्भीर रुपमा प्रदूषण भइरहेको जनाएको छ। इरान र पाकिस्तानमा पनि यस्तै आसपासमा प्रदूषण रहेको जनाएको छ। ‘भारतको दिल्ली काठमाडौंको भन्दा दसौं गुणा प्रदूषित छ,’ उनले भने, ‘म केही दिनअघि दिल्ली पुदा आकाश खुलेको कमै मात्र देख्न पाइयो। त्यसको तुलनामा काठमाडौं निकै राम्रो छ। तर बाह्य हावाले धुलोको कण ल्याउँदा अवस्था चिन्ताजनक हुँदैछ।’
अमेरिकाको यल विश्वविद्यालयको वातावरणीय अवस्थाको सूचकांक २०१४ ले काठमाडौंको हावा बंगलादेशपछि दोस्रो ठूलो प्रदूषणयुक्त देखाएको थियो। जसले आन्तरिक रुपमा सवारी बढ्नुका कारण प्रदूषण बढेको तथ्यांक देखाउँछ। किनकि, पछिल्लो एक दशकमा मोटरसाइकल, बस, ट्रक, जिप कार लगायत सवारीको संख्या तेब्बरले बढेर करिब सात लाख पुगेको छ।
नेपाली विद्यार्थी अनोभा गुरुङ र विश्वविद्यालयका प्राध्यापक मिचेल एल बेलले गरेको अध्ययनले तीव्र सहरीकरण र अत्यधिक सवारीका कारण प्रदूषण यस्तो भएको निस्कर्ष निकालेको थियो। अध्ययनमा २.५ माइक्रोमिटर धुलाका कण ‘अत्यन्तै धेरै’ पाइएको अध्ययनमा संलग्न गुरुङले बेलायती अखबार गार्डियनलाई बताएकी छन्।
हावाको प्रकृतिलाई हेर्दा दक्षिणतिरबाट आएका कण काठमाडौंमा थपिइरहेको बुझिए पनि यसबारे अध्ययन अनुसन्धान भने हुन पाएको छैन। त्रिचन्द्र कलेज घण्टाघरको वातावरण विभागका शिक्षक होमज्योति अधिकारी अध्ययन अनुसन्धानको कमीका कारण दाबी गर्नुको विकल्प नरहेको बताउँछन्।
‘प्रदूषण सामान्य रुपमा स्थानीय, क्षेत्रीय र विश्वव्यापी रुपमा रहिआएका छन्,’ उनले भने, ‘नेपालको अहिलेको समस्या भनेको क्षेत्रीय प्रदूषणको चुनौती हो।’ विश्वका विभिन्न सभासम्मेलनमा विश्वका देशसँग कुरा गरेर मात्रै केही नहुने उनी बताउँछन्।
यसबाहेक यस्तो प्रदूषणले नेपालको हिमशृंखलामा पनि नकारात्मक प्रभाव परिरहेको सोही विभागका अर्का शिक्षक कौशलराज अधिकारी बताउँछन्। ‘नजिकका दुवै देशमा तीव्र औद्योगिकीकरण र पेट्रोलियम सवारी बढिरहेका कारण समस्या तीव्र हँुदै गएको छ,’ उनले भने, ‘भौतिक रुपमा चीनबाट भन्दा पनि भारतबाट सिधा रहेका कारण हामीलाई भारततिरबाट डर हुन्छ नै।’
नोभेम्बर ३० बाट शुक्रबार फ्रान्समा आयोजित अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप–२१) मा विश्वको तापमान वृद्धिलाई रोक्न चर्को बहस भइरहेका बेला नेपालले पनि यस्ता विषयवस्तु उठाउनुपर्ने वातावरणविद शर्मा बताउँछन्।
‘प्रत्येक पटक यस्ता सम्मेलनमा बोल्ने अवसर आउँछन्,’ उनले भने, ‘तर नेपाल सहभागी हुन जानुअघि के विषय उठाउनेबारे छलफल नभई सहभागीहरु हिँड्छन्।’ यसरी नजिकका विकसित देशको औद्योगिक प्रदूषणले सिधै असर गर्ने थाहा हुँदाहुँदै सरकार केही बोल्न नसक्ने उनी बताउँछन्।
तीव्र वायु प्रदूषणलाई नियन्त्रण गर्ने भन्दै भारतको राजधानी दिल्लीले जनवरी १ देखि जोर दिनमा जोर र बिजोर दिनमा बिजोर निजी सवारी चलाउने नीति ल्याएको छ। भारतमै समेत लागु हुनेमा शंका गरिएकामा वातावरण सुधार्न यसले मात्र केही नहुने परिषदका सदस्यसचिव कार्कीले बताए।
‘गाडी जोर र बिजोर चलाउँदैमा वायु प्रदूषण कम हुन्छ भन्ने होइन,’ उनले भने, ‘नियन्त्रणका लागि कोइला प्रयोग नै उत्तम हुन्छ। यसबारे जलवायु सम्मेलनमा पनि कुरा उठाउनु आवश्यक छ।’ यसकारण कोप–२१ जस्ता सम्मेलनमा हाम्रा मुद्दा अध्ययन गरेर तथ्यांकसहित जानुपर्ने र आफ्ना कुरा राख्नुपर्ने उनले बताए।
कोप २१ मा सहभागी हुन फ्रान्समै अधिकांश सरकारी टोली छ। नेपालमै रहेका वातावरण विभागका महानिर्देशक जगदिशभक्त श्रेष्ठले ठूला देशले उत्पादन गर्ने कार्बन कम गर्न दिने दबाबले नै नेपालको समस्या समाधान गर्ने बताए। ‘अरुले वातावरण बिगार्दा नेपालजस्तो गरिब देशलाई समस्या पर्ने गरेको छ,’ उनले भने, ‘हामीले गरेको अनुरोधकै कारण चीन, भारत जस्ता देशले नवीकरणीय ऊर्जा प्रयोग गर्ने गर्छन्। त्यसपछि विस्तारै प्रदूषण कम हुन सक्छन्।’


No comments:

Post a Comment