Thursday, December 24, 2015

CONDITION OF EARTHQUAKE VICTIM OF NEPAL DUE TO THE EXCESS COLD


मन्थली – स्वास्थ्य संस्था भूकम्पले भत्काएपछि अस्थायी टहरामा सेवा सञ्चालन गर्दा चिसोले स्वास्थ्यकर्मी र बिरामी दुवै काप्दै बसेका छन् । चिसोले थलिएका बिरामी पालको चिसोमा कठ्यांग्रिएर बस्नुपर्छ ।
‘चिसो अत्यधिक छ, सेउलाले बारेको छाप्रोमा बसेर काप्दै जाँच गर्दै आएका छौं,’ स्वास्थ्य चौकी गुप्तेश्वरका प्रमुख रामाशिष यादव भन्छन्, जाडोले मर्ने भइयो । यादवका अनुसार गुप्तेश्वरमा हम्मेसी घाम लाग्दैन । पानी सिसाजस्तै जम्छ, दिउँसोसम्म तुषारो हटदैन ।
कहिले बाहिर कहिले त्यही छाप्रोमा लुकामारी गर्दै उपचार सञ्चालन गर्दै आएको गुप्तेश्वर स्वास्थ्य चौकीमा बिरामी राख्नेसमेत ठाउँ छैन । झ्यालढोका केही नभएको छाप्रोमा दुइटा दराज राखेर सेवा चलाएको छ ।
‘राति दुईपटकसम्म उठेर हेर्छु धन्न अहिलेसम्म केही चोरी भएको छैन,’ यादवले भने । पूर्वसभासद दालकुमारी सुनुवारले काम चलाउन दिएको भवनमा औषधि राखिएको छ । भूकम्पले उक्त भवन पनि जीर्ण छ । स्वास्थ्यकर्मी त्यहाँ डराइडराइ औषधि झिक्न जाने गर्छन् ।
‘छाप्रोमा बसेर उपचार सेवा गर्दा हामी नै बिरामी पर्न थालेका छौं,’ यादवले भने । एक त चिसो त्यसमाथि खुला ठाउँमा बसेर कसरी उपचार गराउँ । कहिलेकाहीं त्यही छाप्रो पनि उडाउने गरी हावा चल्छ । उपचार गराउने ठाउँ नभएपछि गाउँमा कोही बिरामी परे भने उनीहरूकै घर पुगेर उपचार गराउन बाध्य भएको यादवले बताए ।
यहाँ सुताउने ठाउँ छैन, बरु दुख्खै गरेर भए पनि घरघर पुग्ने गरेरको उनले बताए । भूकम्पपछि गुप्तेश्वरको मात्र होइन, सैपुको स्वास्थ्य संस्थासमेत कठिनाइ भोग्दै छ । बाँसले बारेको छाप्रोबाट सेवा चलाउनुपरेको उक्त संस्थामा पानी पर्दा सबै भित्र पस्छ । औषधिसमेत छाप्रोमै राखिएको छ ।
‘मन्त्रालयबाट अनुगमनका लागि सैपु पुगेको टोलीले छाप्रोमा औषधि राख्न उपयुक्त नभएकोले अन्यत्र राख्न सुझाव दियो,’ स्वास्थ्य चौकी प्रमुख जयप्रकाश रायले भने ।
भूकम्पले जिल्ला अस्पतालसहित २५ स्वास्थ्य संस्था पूर्णतया क्षति भएका थिए । ती सबैमा कतै पाल त कतै अस्थायी कटेरो बनाएर सेवा दिएको छ । जिल्ला अस्पतालसमेत अझै पालमै सञ्चालन भएको छ ।

No comments:

Post a Comment